परिचय
शिक्षा र समाजसेवीका रूपमा सुपरिचित एवं सङ्घर्षशील विष्णुप्रसाद पन्तको जन्म काभ्रेपलाञ्चोक जिल्लाको सुनकोशीपारि पाटीगैरा भन्ने ठाउँमा माता धनलक्ष्मी पन्त र पिता गुणनिधि पन्तका सुपुत्रका रूपमा वि.सं. २००७ साल फागुन १ गते भएको हो । उहाँ सानै उमेरदेखि मिहिनेती हुनुहन्थ्यो । आफूले सुरु गरेका काम पुरा गरेरै छाड्ने उहाँको बानी थियो । कसैसँग बैरभाव नराखी मिलेर काम गर्ने उहाँको स्वभावले आफ्नो कार्यमा सफल हुँदै आउनु भएको हो । उहाँ धार्मिक प्रवृत्तिको हुँदै गर्दा पनि कर्ममा विश्वास राख्नु हुन्छ । दृढ अठोटका साथ काम गर्दा सफल अवश्य भइन्छ भन्ने उहाँको विचार रहेको पाइन्छ । हाल उहाँ काठमाडौँ महानगरपालिका वडा नं. ४, सुकेधारामा रहनुहुन्छ ।
जीवनमा अनेकौँ उतारचढाव आउँदा पनि नहडबडाइ आफ्नो पढाइलाई निरन्तरता दिँदै २०३६ सालमा अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण हुनुभयो । २०३७ सालमा कानुनमा स्नातक तह उत्तीर्ण गर्नुभयो । पढाइको क्रमका सङ्घर्ष पुरा भए पनि जीवनयापनको लागि भने सङ्घर्ष जारी नै राख्नुभयो । आलु चिप्स, दालमोठ र बेकरी उद्योग सानै स्तरमा सुरु गरेर त्यसको क्रमशः विस्तार गर्दै केही हदसम्म आयआर्जन गर्न सफल हुनुभयो । २०३७ सालमा काठमाडौँको चाबहिलमा १३ जना व्यक्तिहरू मिलेर पशुपति बहुमुखी क्याम्पस सञ्चालन गर्नुभयो । उहाँ त्यस क्याम्पसमा २०३८ सालदेखि २०६१ सालसम्म सहायक क्याम्पसप्रमुख र २०६३ सालदेखि २०७१ सालसम्म क्याम्पसप्रमुख पदमा रही महत्वपूर्ण योगदान पु-याउनु भयो । त्यसपछि पनि सञ्चालक समितिको सदस्य र अनुगमन समितिको अध्यक्ष पदमा रही २०७८ श्रावणसम्म पशुपति बहुमुखी क्याम्पसमा योगदान पु-याउनु भयो ।
विष्णुप्रसाद पन्तले पशुपति बहुमुखी क्याम्पस बाहेक काठमाडौँ उच्च मा.वि., दीपिका इङ्गलिश स्कुल, दिपाङ्कुर इङ्गलिश स्कुलको समेत स्थापना गरी निम्न आयस्तर भएका परिवारका सन्तानहरूलाई गुणस्तरीय शिक्षा दिएर, धेरैको उद्धार गर्नुभएको छ । आपूले सहयोग गरेर पढेका विद्यार्थीहरू देश विदेशमा रहेर उच्च पदमा काम गरिरहेको देख्दा र सुन्दा साह्रै आनन्द मिल्ने उहाँको भनाइ रहेको छ । उहाँले त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विषय समितिको सदस्यको रूपमा रही काम गर्नुभएको छ । विभिन्न विद्यालयहरूको व्यवस्थापन समितिको अध्यक्ष, सदस्य र सल्लाहकार रही लामो समय खर्चनु भएको छ । उहाँका बारेमा स्नातकोत्तर तहका विद्यार्थीहरूले शोधपत्रहरू तयार गरेका छन् । उहाँका बारेमा विभिन्न पुस्तक र पत्रपत्रिकाहरूमा लेखहरू छापिएका छन् । उहाँका लेख र रचनाहरू पनि दर्जनौँ पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् ।
विष्णुप्रसाद पन्तका ११ वटा पुस्तकहरू प्रकाशित भइसकेका छन् जसमध्ये १० वटा साहित्यिक छन् । कविता, स्मृति, नियात्राजस्ता विधामा उहाँका पुस्तकहरू प्रकाशित छन् । चारवटा पुस्तकहरू प्रकाशनका तयारीको क्रममा छन् । सबै प्रकारका जिम्मेवारी पदबाट अवकाशपछि उहाँको लेख्ने, पढ्ने क्रम बढेको छ । पछिल्लो समय समाजसेवामा बढी सक्रिय देखिनु हुन्छ । उहाँकै अध्यक्षता र सक्रियतामा नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्रको स्थापना र सञ्चालन भइरहेको छ । का.म.पा. ४ सुकेधारास्थित यो संस्थाले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । विभिन्न सामाजिक र साहित्यिक कार्यक्रमहरूमा सहभागी हुँदै उहाँको दिन बितिरहेका छन् । उहाँले दर्जनौ सम्मान एवं पुरस्कारहरू प्राप्त गर्नु भएको छ । उहाँले धेरै सामाजिक सङ्घ संस्थाहरूलाई यथासक्य सहयोग पु-याउँदै आउनु भएको छ । उहाँ धेरै सङ्घ संस्थाहरूमा अझै संलग्न हुनुहुन्छ । आफुलाई सधैँ सक्रिय राख्न र समयको अधिकतम सदुपयोग गर्न मनपराउने उहाँ फुर्सदको समयमा आफ्नै बगैँचा, करेसावारी र आफ्नो घर वरपरको सडक सफा गर्न लाग्नुहुन्छ । उहाँमा सबै कुरा चुस्त र व्यवस्थित हुनुपर्छ भन्ने सोच देखिन्छ । त्यसैले उहाँ सरसफाइ र व्यवस्थापनलाई प्राथमिकता दिनुहुन्छ । उहाँबाट आफ्ना मातापिताको नाममा पुरस्कार र सम्मान गुणनिधि पन्त स्मृति प्रतिष्ठानको माध्यमबाट प्रदान गर्दै आउनु भएको छ जुन संस्थाको स्थापना र अध्यक्षता उहाँबाटै हुँदै आएको छ । आफन्तहरूको नाममा विभिन्न संस्थामा पुरस्कार र छात्रवृत्तिको व्यवस्था गर्नुभएको छ ।
विवेक पन्त
विष्णुप्रसाद पन्तको साहित्यकारिता
विष्णुप्रसाद पन्त (२००७, बिर्ता देउराली, काभ्रे, हालः काठमाडौँ) नेपाली समाजमा बहुआयामिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । शिक्षा, प्रशासन र समाजसेवाका क्षेत्रमा उहाँको नेतृत्वदायी भूमिका देखापरेको छ । साहित्यसाधनामा पनि उहाँ क्रियाशील हुनुहुन्छ । जीवनका उतारचढावलाई सहज व्यवस्थापन गर्ने उहाँको खुबी अनुकरणीय छ ।
पशुपति बहुमुखी क्याम्पस (२०३७)को स्थापनाकालदेखि सक्रिय रही उहाँले देखाएको नेतृत्व क्षमता र प्रशासनिक दक्षता विशेष महत्वको मानिन्छ । उहाँ समाजमा अग्रजको अनुभव हस्तान्तरणको अभियानमा पनि लागिपर्नुभएको छ । मानव पुस्तकालयको नयाँ अवधारणालाई अघि सारेर उहाँले देखाउनु भएको जाँगर प्रेरणादायी छ । आफु जहाँ जुन परिवेशमा रहे पनि त्यसको सुधारका लागि अनुकूल वातावरण बनाएर नेतृत्वदायी भूमिकाबाट सेवा गर्ने उहाँको जस्तो कार्यकुशलता कमै मानिसहरूमा पाइन्छ । पछिल्लो समय उहाँ साहित्यका क्षेत्रमा निरन्तर साधनारत हुनुहुन्छ । हालसम्म उहाँका १० वटा साहित्यिक कृति र एउटा गैरसाहित्यिक कृति प्रकाशित भएका छन् । प्रस्तुत सन्दर्भ उहााको साहित्यकारिताको सङ्क्षिप्त आँकलन गर्नु हो ।
विष्णुप्रसाद पन्तको साहित्यिक लेखनको आरम्भ कविताबाट भएको हो । उहाँका ६ वटा कविताकृति प्रकाशित छन् । तीमध्ये सम्झनाका झुल्कामा (२०६०) र बोध (२०७१) फुटकर कवितासङ्ग्रह हुन् भने हिँड्दाहिँड्दै (२०६३) गीतसङ्ग्रह हो । त्यसरी नै मनको साइनो (२०७८) साइनो सङ्ग्रह, फुलको सुगन्ध (२०७८) हाइकू सङ्ग्रह र सम्झनाका सुसेली (२०७९) सुसेली सङ्ग्रह हुन् । उहाँका फुटकर कविताहरूमा नेपाली परिवेश, जीवन र मायाममताका भावहरूको सूक्तिमा अभिव्यक्ति पाइन्छ । मनका राग, अनुराग र अनुभूतिको भुल्का छचल्किएको भेटिन्छ :
कहिलेकाहीँ यही मन साह्रै जाति लाग्छ
कहिले भने यही मन अभिशाप नै लाग्छ
खँडेरीमा बिरुवाले पाउने दुःख जस्तै
मेरो मन आजभोलि भएको छ त्यस्तै
(सम्झनाका भुल्काबाट)
त्यसरी नै उहाँका गीतहरूमा प्रेम–प्रणय, वियोग–विरह र देश–परदेशका अनुभूतिको कलात्मक अभिव्यक्ति भएका छन् । जीवनको आरोह–अवरोहका क्रममा अन्तहृदय सँगालेका भावहरूको विम्बात्मक प्रस्तुति छ:
बाहिरी पीडा अरुले देख्लान देखिन्न भित्रको
सक्दैन पस्न अरुले भित्र बस्ने त भित्रै हो
(हिँड्दाहिँड्दैबाट)
विष्णुप्रसाद पन्तको कलम पछिल्लो समय हाइकु, साइनो र सुसेलीजस्ता छोटा रचनामा चलेको पाइन्छ । थोरैमा चोटिलो अभिव्यक्ति गर्न सकिने र अनुभूतिको सूक्तिमय अभिव्यक्ति हुनेहुँदा पनि यी नवीन प्रयोगहरूमा उहाँ आकर्षित हुनुभएको देखिन्छ । उहाँका यी छोटा अभिव्यक्तिहरूमा नेपाली समाज र संस्कृतिका विविध पक्षहरूको सङ्केत पाइन्छ । मानवजीवन र प्रकृतिका अनेकानेक सन्दर्भहरू पनि विषय बनेका छन् । राष्ट्रप्रेम, मानवप्रेम र राजनीतिका विकृत पक्षमाथिको चोटिलो व्यङ्ग्य पनि त्यस्ता रचनामा फेला पर्छ :
श्रीमती नेतृ
घरमा छैन बास
शनिको दशा
(फुलको सुगन्धबाट)
गधामाथि चढेर
घोडा चढेजस्तो गर्दा
परिणाम कस्तो होला त ?
(मनको साइनोबाट)
चैते हुरीले
काखैमा सुताएर
हान्यौ छुरीले
(सम्झनाका सुसेलीबाट)
यसरी हेर्दा उहाँका कविताकृतिहरू मूलतः नेपाली समाज, संस्कृति, जाति, प्रकृति, राजनीति र जीवन भोगाइको विशिष्ट अनुभूतिको अभिव्यक्तिमा केन्द्रित देखिन्छन् ।
विष्णुप्रसाद पन्तको साहित्यकारिताको अर्को पाटो आफ्नै जीवन भोगाइबाट प्राप्त अनुभूतिहरूको प्रेरणादायी सूक्ति अभिव्यक्ति पनि हो । पूर्वीय हिन्दू संस्कृति र दर्शनका विविध पक्षहरूको अनुशीलन र आफ्नै समाजको भोगाइबाट खारिएका कवितामाथि तरल भावहरूलाई उहााले अनुभूतिका तरङ्गहरू (२०६६) शीर्षकको सूक्तिसङ्ग्रहमा अभिव्यक्त गर्नुभएको छ । २०१ मर्मस्पर्शी सूक्तिहरूको यो सङ्ग्रह चमत्कारपूर्ण भावविम्ब र नैतिक सन्देशहरूले सझिएको छ । यसका सूक्तिहरू जीवनोपयोगी छन् । जस्तै :
- अँध्यारोमा छायाले पनि साथ छोड्छ
- लक्ष्यविनाको श्रम व्यर्थ हुन्छ
- रित्तो गाग्रीले आवजाबाहेक अरु केही दिदैन
- आफूलाई कमजोर सम्झने व्यक्ति सधैँ पछि पर्छ
- प्रत्येक बिहानीले नयाँ युग र नयाँ जीवनको सङ्केत गर्छ
- हारको डरले कोसिस नगर्नेहरू जित पनि हात पार्न सक्दैनन
(अनुभूतिका तरङ्गबाट)
साहित्यकार विष्णुप्रसाद पन्तको अर्को कृति स्मृतिका तरङ्ग (२०७१) हो । यो उहाँको जीवनभोगाइको सङ्क्षिप्त दस्तावेजका रूपमा आएको छ । यसमा उहाँले आफ्नो जीवनका बाल्यकाल, युवाकाल, प्रौढावस्था एवम् जीवनसङ्घर्षका रोचक प्रसङ्गहरूको कलात्मक प्रस्तुति दिनुभएको छ । उहाँको जीवनका प्रेरणादायि ३३ वटा प्रसङ्ग कथाहरू भएको यो सङ्ग्रह उहाँको जीवन बुझ्न सघाउने तथ्यहरूको आत्मजीवनीमूलक गद्यात्मक सङ्केत कृति हो । यसका तथ्यहरूको शृङ्खलात्मक विस्तारबाट उहाँको जीवनको समग्रता झल्कने भव्य आत्मकथात्मक ग्रन्थ बन्ने स्पष्ट छ ।
जीवनभोगाइका क्रममा आफन्तको निधनले दिने चोट अत्यन्त दुःखद हुन्छ । यद्यपि त्यसलाई टार्न पनि सकिन्न । त्यसमा पनि जीवनसङ्गीनिकै निधनको पीडा त भोग्नेले मात्र बुझ्ने कुरा हो । यही पीडाबाट अन्तरहृदय रसाएर आएका करुण भावहरूलाई सम्झनाका क्षितिजमा मञ्जु (२०७४) नामक कृतिमा व्यक्त गर्नुभएको छ । मञ्जु उहाँकी धर्मपत्नी हुनुहुन्थ्यो । त्यही निधनको चोटमा आहत हृदयका मार्मिक प्रसङ्गहरू यसमा छन् । यो उहाँको लेखन र सम्पादन दुबै हो । यहाँ पत्नी मञ्जुका रचना र मञ्जुको निधनमा आफन्तजनले दिनुभएका श्रद्धाञ्जली–समवेदनाका आलेखहरूको सम्पादन उहाँले गर्नुभएको छ । साथै पत्नी मञ्जुका स्मरणीय स्मृतिहरू र फोटाहरूको प्रासङ्गिक प्रस्तुतिबाट मृत पत्नीलाई पुस्तकमा जीवित तुल्याउनु भएको छ ।
विष्णुप्रसाद पन्तको अर्को महत्वपूर्ण कृति बेलायतदेखि क्यानडासम्म (२०७७) हो । यो उहाँको बेलायत र क्यानडा भ्रमणको यात्रास्मृति हो । नियात्रात्मक ढाँचाको यस गद्यकृतिमा बेलायत खण्ड र क्यानडा खण्ड छन् । उहाँका दुई छोराहरूमध्ये जेठा उत्तम पन्त क्यानडामा सपरिवार बस्नुहुन्छ भने कान्छा विवेक पन्त बेलायतमा सपरिवार बस्नुहुन्छ । यही सन्दर्भमा आफ्ना सन्तानका उन्नति–प्रगतिको अवलोकन गरेर आत्मगौरव प्राप्त गर्ने क्रममा भएको उहाँको यात्राको कथात्मक–विवरणात्मक (नियात्रात्मक) दस्तावेजका रूपमा यो कृति तयार भएको हो ।
यसरी विष्णुप्रसाद पन्तको साहित्यकारिताको सङ्क्षिप्त अवलोकन गरेर हेर्दा उहाँको लेखनी बहुविधा सिर्जनामा रमाएको देखिन्छ । औपचारिक सिर्जना यात्रा (२०६०–२०८०) को २० वर्षलाई हेर्दा उहाँ नेपाली साहित्य क्षेत्रका ऊर्जाशील स्रष्टाका रूपमा स्थापित हुनुभएको प्रस्ट हुन्छ ।
डा. बिष्णु केसि
तस्विरहरु